जेनेभाः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यस वर्षको अन्त्यसम्म कोरोना भाइरसको खोपका हजारौं ‘डोज’ उपलब्ध हुने आशा व्यक्त गरेको छ । कोरोना भाइरसको खोपका हजारौं ‘डोज’ उपलब्ध भएसँगै अत्यन्त कमजोर र प्रभावित मानिसहरुलाई बचाउन सकिने जनाएको छ ।
कोरोना भाइरसको अहिलेसम्म कुनै पनि खोप तयार भएको छैन । तर डब्लूएचओका वैज्ञानिक सौम्या स्वामीनाथनले संसारभरका विशेषज्ञहरु दुई सयभन्दा बढी सम्भावनाहरुमा काम गरिरहेका बताएका छन् । उनका अनुसार झण्डै १० खोपको मानिसमा ‘ट्रायल’ चलिरहेको छ ।
स्वामीनाथनले भने, ‘‘भ्याक्सिन (खोप) बनाउनु एक जटिल काम हो । यसमा कैयौं प्रकारका आशंका र राम्रा कुराहरु पनि छन् । हामीसँग कैयौं भ्याक्सिनहरु छन् । यदि हामी एक पटक असफल भयौं भने अर्को पटक प्रयास गर्छौं, फेरि पनि असफल भए पनि निराश हुँदैनौं, हामी हार मान्दैनौं ।”
अवस्था सामान्य रहे यो वर्षको अन्तिमसम्म कम्तीमा एक खोप मिल्न सक्ने उनको भनाइ छ । खोप सबैभन्दा पहिले फ्रन्टलाइन वर्कर्स जस्ता डाक्टर, कमजोर र गम्भीर रुपका बिरामीलाई दिइने स्वामीनाथनले बताए । बीबीसी