इटहरीः प्रदेश १ को साहसिक पर्यटनको राजधानी भनेर परिचित धरानमा अब जिप फ्लायरको पनि परीक्षण हुने भएको छ । जिप फ्लायर भनेको तारमा झुण्डिएर भिरालो क्षेत्रमा झर्दै खेलिने साहसिक पर्यटकीय खेल हो । हाल यो खेल पोखरामा मात्रै सञ्चालित छ ।

प्रदेश १ मा पहिलोपटक व्यावसायिक र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङदेखि जङ्गल सफारीसम्म सुरु भएको धरानमा जिप फ्लायर पनि पहिलोपटक परीक्षण हुने भएको छ ।

यही असोज १२, १३, १४ र १५ गते जिप फ्लायरको परीक्षण हुने बताइएको छ । धरानको आधा किलोमिटर हाराहारीको जिप फ्लायर परीक्षणमा काठमाडौं स्काउटले प्राविधिक सहयोग गर्ने यसको आयोजक संस्था वातावरण तथा पर्यटन केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

१२ गते दिउँसो २ बजे पहिलोपटक हुने जिप फ्लायर धरान २० मा रहेको ओशो आश्रम क्षेत्रबाट धरान १३ मा बनेको नयाँ सर्दू पुल क्षेत्रसम्मको हुनेछ ।

Oso Jharana
‘धरानमा हुने यो नयाँ साहसिक पर्यटन प्रोडक्टको बारेमा हामीलाई धरान फुस्रेका मिलन भाइ र वडा नम्बर १३ का अध्यक्ष नेत्र काफ्ले तथा वडा नम्बर २० का अध्यक्ष मणिकुमार राईको सहयोग छ’, श्रेष्ठले बताए । उनले भने, ‘असोज ११ मा हुने विश्व पर्यटन दिवसको भोलिपल्टै यसको परीक्षण गरेर हामीले पर्यटन प्रवद्र्धन प्रयास गरेका हौँ ।’ जिप फ्लायर परीक्षणमा ५ जना प्राविधिक र १५ जना स्वयंसेवक खट्ने श्रेष्ठले बताए ।

ओशो झरना र जैविक पार्क प्रवद्र्धनमा जिप फ्लायर
जिप फ्लायर परीक्षण गरिने क्षेत्रमा सानो एउटा झरना छ । ओशो आश्रम क्षेत्र जाने बाटोमा भएकाले यसलाई ओशो झरना भनिन्छ । यही क्षेत्रमा ४० बढी प्रजातिका बोटबिरुवा र केही जङ्गली पशुपंक्षी देख्न सकिन्छ ।

यी दुवै क्षेत्रको पर्यटकीय प्रवद्र्धनमा जिप फ्लायरले सहयोग पुर्याउने वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘यो परीक्षण मात्रै भए पनि यसले राम्रो सन्देश दिनेछ ।’

चिन्डे डाँडा र शिवजट्टामा स्थायी जिप फ्लायरको सम्भावना भएको प्राविधिकहरूले बताएको श्रेष्ठले बताए । ‘प्रदेश १ को साहसिक पर्यटनका क्षेत्रमा नेतृत्व गर्दै आएको धरानले जिप फ्लायरको पनि नेतृत्व गर्दैछ’, श्रेष्ठले थपे, ‘स्थायी जिप फ्लायर २ किलोमिटर माथि र पर्यटकीय क्षेत्रमा हुनुपर्ने भएकाले चिन्डे डाँडा, शिवजट्टा र बुढासुब्बा क्षेत्रबाट तलको भिरालो क्षेत्रमा गर्न सकिने प्राविधिकहरूले भनेका छन् ।’

Zip Flier