इटहरीः भारतको दिल्लीस्थित तबलीगी सभाबाट फर्किँदै गरेका सुनसरीको कोशी गाँउपालिकाका १८ जनाको नेपाली जमाती समूहले लकडाउन उलघंन गरेको नाममा ७ लाख भारतीय अदालतलाई जरिवाना तिर्नु परेको छ । उनिहरुले २७ दिनसम्म जेलमा समेत विताउनु परेको छ । सुनसरीको कोशी गाउँपालिका ठेगाना भएका जमातीहरुलाई लकडाउन उल्लङ्घन गरेको आरोप लगाई उत्तर प्रदेशको बागपत जिल्लास्थित खेकडा जेलमा बन्दी बनाइएको थियो । उनिहरु यतिबेला नेपाल फर्किइसकेका छन् । कोशी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका उनिहरुलाई भारतको जेलमा अमानविय व्यवहार गरिएको छ ।
उनीहरूलाई कोशी गाउँपालिका र सुनसरी क्षेत्र नं. ४ का सभाषद एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा नेपाल फर्काइएको हो । उनीहरूलाई रिहा गर्न मुख्य न्यायिक मजिस्ट्रेट बागपतले ७ लाख जरिवाना तिराएको छ । सबैलाई फौजदारी मुद्दा अन्तर्गत कोरोना सङ्क्रमण फैलाएको अभियोग लगाइएको थियो । कोशी गाउँपालिकाबाट तबलीगी सभामा सहभागी हुन मार्च १३ मा उनीहरू दिल्लीस्थित काली मस्जिद पुगेका थिए । जमाती सभा सकेर उनीहरू लकडाउनको कारण हिँडेरै उत्तर प्रदेशको बालेनी आइपुगेका थिए । तर भारत प्रशासनले उनीहरूलाई बालेनीमा ५२ दिन क्वारेनटाइनमा राखेको थियो ।
क्वारेनटाइनमा नेपाली भएकै कारण निकालिएका उनीहरूलाई पछि मे २१ तरिकमा बागपतको एक जङ्गलबाट नियन्त्रणमा लिई हिरासतमा राखिएको थियो । सोही आधारमा उनीहरू सहित ८ नेपाली जमाती समूहलाई खेकडा जेलमा बन्दी बनाइएको थियो । नेपाल फर्किएका उनीहरूका अनुसार भारतीय प्रहरीले जबरजस्ती कागजमा हस्ताक्षर गराइ जेल पठाएको बताएका छन् ।
हिरासतमा दिनको एक टाइम मात्र रोटी र दालको भरमा २७ दिन कटाउनु परेको उनीहरूको दुखेसो छ । ४९ वर्षीय कयुम मन्सुरीका अनुसार २० २० को कोठामा २८ जना कोचेर राखेको बताए । ‘हामीलाई अत्यन्त अमानवीय व्यवहार गरियो, राम्रो सित बस्न समेत नपुग्ने ठाउँमा २७ दिन ननिदाई दिन कटायौ’ उनी भन्छन् ‘खानामा डढेको रोटी र पानी बराबरको दाल दिन्थे ।’
नेपाली जमाती भएकै कारण मानसिक यातना दिइयो । मानौँ अत्यन्त ठुलै अपराधी पक्राउ परे सरह हामीलाई व्यवहार भयो । २७ दिनसम्म उज्यालो हेर्न नपाइएको मन्सुरीको अनुभव छ । जेलमा दिइएको खानाले धेरै जना बिरामी परेको साफिद मिया बताउँछन् । ‘सुरुमा एक टाइम मात्र खाना दिइएको थियो’ उनले भने ‘पछि हामी सबैले आन्दोलन गरेपछि मात्र दुई टाइम खान उपलब्ध भयो । तर खाना भने तल्लो स्तरको थियो ।’
जेलको खाना खाएकै कारण साथीहरू जन्डिस र पेटको बिरामी भए । उपचार गराउनुको साटो औषधी ल्याएर दिन्थे ।‘क्वारेनटाइनबाट निकाल्दे पछि हामी हिँडेर नेपाल आउने तयारीमा थियौ’ अर्को पीडित मोहम्मद रमतुल मियाँले भने ‘बाटोमा हामीलाई नियन्त्रणमा लिएर नेपाल छाड्छौ भनेर हिरासतमा लगे ।’
मैले आफ्नो मोबाइलबाट त्यति बेलै नेपालमा भ्वाईस म्यासेज छाडे । त्यही म्यासेजका कारण आज हामी नेपाल फर्किन सफल भयौ । तर मियाँका अनुसार भारतीय जेलमा अझै धेरै नेपालीहरू जेलमा रहेको बताए । विशेष मुस्लिम समुदायलाई भारतमा धेरै दुख दिइएको उनको भनाई छ । घर फर्किएका १८ जनालाई भारतीय प्रशासनले पिसिआर परीक्षण गरेर असार ४ गते नेपाल फर्काएको हो । उनीहरू सबैको रिर्पाेट नेगेटिभ छ ।
भारतीय जेलमा रहेका १८ जनालाई घर फर्काउनमा सांसद एवम् पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परराष्ट्र मन्त्रालय मार्फत ठुलो सहयोग गरेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी बताउँछन् । हाल कोशी गाउँपालिकाले उनीहरूलाई ४ नं. वडामा रहेको मदरसा मिफताहुल उलुमको क्वारेनटाइनमा राखेको छ । केही दिनभित्रै उनीहरूको पूनं कोरोना परीक्षण गरेर घर फर्काउने तयारी गरेको छ ।