इटहरी :उदयपुरको बेलका नगरपालिका २ घर भइ विराटनगर–३ मा डेरा बस्ने २४ वर्षीया श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा उनका पूर्वप्रेमि लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले श्वेतालाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीलाई पक्राउ गरी म्याद थप गरेको हो ।
पराजुलीलाई मोरङ अदालतमा आत्महत्या दुरूसाहन मुद्दामा मंगलबार ७ दिनको लागि म्याद थप गरिएको छ । प्रहरीलाई अनुसन्धान गर्न अदालतले अनुमति दिएको मोरङ अदालतका स्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।
मृतककी कान्छि बहिनी सरिता पोखरेलको जाहेरीमा पराजुलीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए। श्वेताले असार ७ गते साँझ डेरामा आत्महत्या गरेकी थिइन् । परिवारका अनुसार महेन्द्र मोरङ क्याम्पसमा बि.एस.डब्लू. दोस्रो वर्षमा अध्ययरत श्वेताको विगत तीन वर्षदेखि सविनसँग प्रेम सम्बन्ध थियो ।
विवाह गर्नका लागि श्वेताले सविनसँग बारम्बार आग्रह र अनुरोध गरेकी थिइन् । तर, श्वेतासँगै जीवन बिताउने लक्ष्य नराखेका सबिनले उनीसँग तत्काल विवाहको सहमति दिएका थिएनन्। त्यसलगत्तै श्वेताले परिवारसँगको सल्लाहमै अर्को व्यक्तिसँग विवाह गर्ने निचोड निकालेकी थिइन् । श्वताको विवाह हुने जानकारी पूर्वप्रेमी सविनले थाहा पाएपछि विवाह भाँड्न आफूसँगै बिताएका पुराना तस्वीरहरु बाँड्न थालेका थिए ।
श्वेताको विवाह हुँदै गरेको घरसम्म स्वेताको फोटो पुगेपछि उनले आत्महत्या गरेकी हुन् । विवाह हुने भएको दोस्रो केटाले श्वेतालाई भेटेर पहिलो प्रेमीसँग धेरै माया साटिएको रहेछ, अब विवाह नगरौं भनेपछि उनले आत्महत्या गरेको परिवारको भनाइ छ ।
पूर्वप्रेमिले फैलाएको फोटोले उनलाई आत्महत्या गर्न दुरूहासन गरेको आरोपमा अहिले प्रहरीले सविनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइहरेको प्रहरीको जानकारी दिएको छ ।