इटहरीः लकडाउनको अबस्थामा निजि विद्यालय प्याब्सन, एनप्याब्सनले विद्यार्थी, अभिभावकबाट शुल्क लिएको भन्दै अनेरास्ववियू सुनसरीले कडा आन्दोलनको चेतावनी दिएको छ । देशको यस्तो विषम परिस्थितीमा पनि निजि विद्यालयहरुले आफ्ना विद्यार्थी र अभिभावकहरुबाट अध्ययन अध्यापन नगराई शुल्क लिएको भन्दै नेकपा आबद्ध विद्यार्थी संगठन सुनसरीले आन्दोलनको चेतावनी दिएको हो ।
संगठनले एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै निजि विद्यालयहरु प्याब्सन, एन प्याब्सनद्धारा विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी लकडाउनको समयमा समेत अनिवार्य शुल्क तिर्न जारी गरेको विषयमा ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तीमा भनिएको छ – ‘हामीलाई थाहा छ, यतिबेला लकडाउनका कारण लाखौं विद्याथीहरु शिक्षालय जान रोकिएका छन् । अझ कलिला बालबालिकाहरु पढ्ने भएकाले कोरोना कहरका दुष्टिले विद्यायल क्षेत्र झनै संवेदनशील छ । यस्तो अबस्थामा सरकारले लिएको नीति र विद्यार्थी, अभिभावकले भोगिरहेको संकटलाई पुर्ण रुपमा बेवास्ता गरी शुल्क उठाउने कार्य आपत्तिजनक छ ।’
संयोजक जीबी गजल र सहसंयोजक बुद्रोस लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तीमा सुनसरीका कुनै पनि निजि विद्यालयले सरकारको नीति विपरित विद्यार्थीबाट शुल्क लिएको पाइए सडक आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।