इटहरी : इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष बजेटमा इटहरी ९ बिपी चौकमा बिपी कोइरालाको र इटहरी १६ लविपुरमा मदन भण्डारीको सालिक निर्माण गरिने योजना प्रस्तुत गरेको छ । त्यस्तै इटहरी चौकमा पृथ्वी आकारको स्मारक निर्माण गरिने समेत बजेटमा समावेश गरिएको छ ।
इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि १ अर्व ७८ करोडको वजेट प्रस्तुत गरिएको हो । १ अर्व ७८ करोड कुल विनियोजन मध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगत तर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय ब्यवस्थापन तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । स्वास्थ्य, कृषि, रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ ।

वजेटमा उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा २ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । यस्तै शिक्षा क्षेत्रमा २ करोड, बिपन्न समुदायबस्ती बिकास कार्यक्रमका लागि ५० लाख, कृषि तथा पशुविकास कार्यक्रमका लागि ३ करोड ७५ लाख, विपत ब्यवस्थापनका लागि १ करोड, स्मार्ट पार्किङ योजना सञ्चालनका लागि ५ करोड २५ लाख, नगरयातायात तथा सडक सुशासन कार्यक्रमका लागि ५० लाख, नदि नियन्त्रण सम्बन्धि योजना सञ्चालनका लागि १ करोड ५० लाख, इटहरी क्षेत्रको आमसंचारलाई थप विकास गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक बर्ष इटहरीको २५ बर्षे योजनासहितको विस्तृत गुरुयोजना निर्माण गरिने भएको छ । इटहरीमा इन्जिनियरिङ अध्यन गराउने सामुदायिक क्याम्पस स्थापना गर्ने कार्यको सुरुवात गरिने भएको छ । इटहरी अस्पतालको सुधार स्तरोन्नतीका लागि प्रदेश सरकार र इटहरी उपमहानगरले उल्लेख र कमखर्च गरिने भएको छ ।

सो ठाउँमा ३३ कोठे नयाँ अस्पताल भवन निर्माण सुरुभइ सकेको छ । ५० बर्ष माथिका जेष्ठ नागरिकको मुटुसुगर लगायतका रोगको निःशुल्क परीक्षण गरिने छ । यस्तै ७५ वर्षमाथिका जेष्ठ नागरिकको सवै प्रकारका रोगको परीक्षण गरिनेसमेत बजेटमा समावेश गरिएको छ । एक हजार विपन्न परिवारको निःशुल्कक स्वास्थ्य परीक्षण गरिने छ ।

इटहरीलाई कृषिमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम संचालन गरिने जनाइएको छ । इटहरीलाई वाँझो जमिनमुक्त क्षेत्र घोषणा गरिने भएको छ । घरेलुग्राम निर्माणका लागि १ करोड वजेट विनियोजन गरिएको छ । वहुजातीय संग्राहलय निर्माण कार्यको थालनी गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । आगामी वर्षमा वहुवर्षे एघार वटा योजना सम्पन्न गरिनेछ । ती योजना सम्पन्न हुँदा ३० किलोमिटर ग्रामिण बाटो कालोपत्रे हुनेछन् ।

इटहरीमा निर्माण सुरु गरिएको सुरक्षित आवासृह सेफहाउस निर्माण सम्पन्न गरिनेछ । उपमेयर सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिइएको छ । इटहरी अस्पताल र उपमहानगर क्षेत्रभित्रका वर्थिड सेन्टरमा प्रसुती गराउने महिलाका लागि थप १ हजार र कम प्रदान गरिने कार्यलाई निरन्तरता दिइएको छ ।

मेयरकप फुटवल प्रतियोगिता र विद्यालयस्तरीय ओलम्पिक खेलकुद प्रतियोगिता गरिने भएको छ । विदेशवाट फर्किएका युवालाई नयाँ रोजगारीका लागि युवा स्वरोजगार कार्यक्रम संचालन गरिने भएको छ । मुसहर वस्तिविकास कार्यक्रमलाई निरन्तरता दिइने छ । यो कार्यक्रममार्फत यस बर्ष ९ घर निर्माणसम्पन्न हुन लागेका छन् ।

अति विपन्न मुसहर परिवारलाई ती घर हस्तान्तरण गरिने छ । बजेटमा ब्यावसाय वा घरबाहल करमा समेत छुट दिने ब्यबस्था गरेको छ । उक्त अबधि भित्र घर बहालकर २०७७ पौष मसान्त सम्ममा बुझाएमा लाग्ने व्याज, शुल्क, जरिवाना पूर्णछुट सहित करमा क्रमश ५० प्रतिशत, ३० प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था मिलाएको पनि वक्तव्यमा भनिएको छ ।

यस्तै आर्थिक बर्ष २०७६÷०७७को व्यवसायकर २०७७ साल माघ मसान्तसम्ममा बुझाएमा व्याज शुल्क, जरिवानामा पूर्ण छुट सहितकरमा २५ प्रतिशत छुट हुनेछ । साथै आर्थिक बर्ष २०७७÷०७८ को व्यवसायकर २०७७ साल माघ मसान्त सम्ममा बुझाएमा लाग्ने व्याज शुल्क जरिवाना पूर्ण छुट सहित लाग्ने करमा २० प्रतिशत छुट दिइनेछ । २०७७÷०७८ को घरबहाल कर सोही मितिसम्ममा बुझाउनेलाई त्रैमासिक अनुसार लाग्ने व्याज, शुल्क, जरिवानामा छुटसहित करमा १० प्रतिशत छुट दिईनेछ ।
स्मार्ट पार्किङ निर्माणका लागि पाँच करोड रकम विनियोजन गरिएको छ । यो वर्षको बजेट गत आर्थिक वर्षको भन्दा ७ करोड ५० लाख कमि हो ।

यो पनि : इटहरीको १ अर्ब ७८ करोडको बजेट सार्वजनिक (पुर्ण पाठसहित)

यो पनि : इटहरीमा आगामी वर्ष देखि नगर बस संचालन