इटहरीः कोरोना संक्रमण भई अस्पताल भर्ना भएका निको भई प्रदेश नम्बर १ बाट विहीबार मात्र ७० जना डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररतमध्ये ७० जना डिस्चार्ज भएका हुन ।
कोरोना ठिक भई डिस्चार्ज हुनेहरुमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका २,उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका एक एक जना छन् । उनीहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना आईसोलेसनमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा १५ देखि ४८ वर्ष उमेर समूहका रहेको पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेलले जानकारी दिएका छन् ।
उनीहरुलाई बिदाइ गर्न स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतसहितको टोली गोठगाउँ पुगेको थियो । अब प्रदेश १ मा कोरोना रोग ठिक भई डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । विहिबार थप ७ जना संक्रमण पुष्टि भएको छ । मोरङमा १, सुनसरीमा २ र झापामा ४ रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।