ईटहरी: कार दुर्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट ३० वर्षीय कृष्णबाबु पाण्डेको निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल- भैरहवा सडक खण्डको तिलोत्तमा- १, ड्राइभर टोलमा गए राति भएको सवारी दुर्घटनामा पाण्डेको ज्यान गएको हो ।

बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
कार सडक किरानाको फलामे बारमा ठोक्किएको बताइएको छ । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

कारमा पाण्डे एक्लै सवार रहेको प्रहरीले जनाएको छ । सडकको डिभाइडर र विद्युतको पोलमा ठोक्किएको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पाण्डेको शव अहिले पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

पत्रकारिताका अलावा कलाकारिता जगतमा पनि चिनिएका पाण्डे स्याङ्जाको विर्घामा जन्मिएका हुन् । पत्रकारिता र कलाकारितालाई माध्यम बनाएर उनी लामो समयदेखि सपरिवार बुटवलमा बस्दै आएका थिए । उनले स्थानीय स्तरमा एक अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।