मकवानपुर: मकवानपुरका रूपेन्द्र थापा र कपिलवस्तुकी सुस्मिता क्षेत्रीबीच गत वर्ष वैशाख १८ गते विवाह भएको थियो।

रूपेन्द्र क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रालि हेटौंडामा काम गर्थे। उनीहरूको घरबार राम्रै चलिरहेको थियो। घरिघरि माइती पनि जान्थे। घर र माइती दुबै जिल्ला महेन्द्र राजमार्गमै पर्ने भएकाले मोटरसाइकलमै आवातजावत गर्थे।

गत वर्ष दशैंमा पनि उनीहरू टीका थाप्न ससुराली पुगे। टीका सकेर असोज २३ गते रूपेन्द्र मोटरसाइकलमै हेटौंडा फर्किन हिँडे। त्यो दिनको यात्रा अरू यात्राजस्तो भएन। नवलपरासीको दाउन्नेमा रूपेन्द्रले चलाएको मोटरसाइकल दुर्घटनामा पर्‍यो।

जिन्दगीभरि साथ दिन्छु भनेर विवाह गरेका रूपेन्द्र सुस्मितालाई सधैँका लागि छोडेर गए।
त्यसपछि सुस्मिताका सासू ससुरा भन्न थाले यसले हाम्रो छोरालाई खाई। रूपेन्द्रको मृत्यु भएको पीडा एकातिर त्यसमाथि आफ्ना कारणले नै दुर्घटना भएको आरोपले उनलाई मानसिक तनाव बढ्दै गयो।

यहीबीचमा एकदिन उनका ससुराले सुस्मितामाथि बलात्कारको प्रयास गरे। बाथरूममा हुँदा भएको उक्त घटनाले सुस्मिताको मन झन बिथोलियो।

भारी मन लिएर उनी माइत गइन्।

गत चैतमा श्रीमानको ६ महिनाको श्राद्ध गर्न उनी हेटौंडा आइन्। त्यसयता उनी घरमै बसेकी थिइन्।


असार २ गते उनको परिवारले सुस्मिताले आत्महत्या गरेको छिमेकीलाई भने। छिमेकीले प्रहरीलाई खबर गरे।

प्रहरी घटनास्थल पुग्यो। अनुसन्धान गर्‍यो। अनुसन्धानबाट खुल्यो सुस्मिताले आत्महत्या गरेकी थिइनन् उनको हत्या भएको थियो।

सुस्मिताको हत्या गरेको अभियोगमा मकवानपुर प्रहरीले शुक्रबार उनका ससुरा प्रकाश थापा, सासू तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

महिनावारी भएकी सुस्मिताको क्रुरतापूर्वक हत्या

मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार असार २ गते बिहान साढे ६ बजेतिर हेटौंडा ४ कर्रास्थित सूर्य चोकमा २४ वर्षीया सुस्मिताले भान्सा कोठामा आत्महत्या गरेको प्रहरीलाई खबर आएको थियो।

‘खबर पाउनासाथ हाम्रो वडा प्रहरी गयो। केहीबेरमा डिएसपीको टोली पनि घटनास्थलमा पुग्यो,’ राठौरले भने,‘भित्रबाट चुकुल लगाएको कोठामा लास देखिएपछि हेटौंडा अस्पतालका डाक्टरसहित म पनि त्यहाँ पुगें। हामीले माइती पक्षलाई खबर गर्‍यौं।’

माइती पक्षले आफूहरू आएपछिमात्र शव उठाउन भनेकाले प्रहरी कुर्‍यो। दिउँसो सुस्मिताका बुवा आइपुगे।

‘दुई बजेतिर ढोका फोडेर हेर्दा सुस्मिताको शव उत्तानो परेको अवस्थामा भेटियो। उनको टाउकोमा चोट लागेको थियो। वरपर रगत बगेको थियो,’ एसपी राठौरले भने,‘हामीलाई त्यो आत्महत्या हो भन्ने लागेन। तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थाल्यौं।’

अर्को दिन माइती पक्षले सुस्मिताका परिवारविरूद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिए। डिएसपी इन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोलीले काम थाल्यो।

‘अनुसन्धानबाट उनको हत्या भएको देखियो,’ एसपी राठौरले भने।

प्रहरीको अनुसन्धानले सुस्मिताको हत्याका पछाडि तीन वटा कारण रहेको देखाएको छ।

पहिलो, सासूससुराले आफ्नो छोरो सुस्मिताकै कारण मरेको भन्दै उनलाई मानसिक तनाव दिइरहेका थिए।

‘ससुरालाई आफूले गरेको बलात्कारको प्रयासबारे बुहारीले बाहिर भन्ला भन्ने डर थियो। त्यो घटना बाहिर आए जेल जानुपर्थ्यो त्यही भएर उनी बुहारीलाई मार्न चाहन्थे,’ एसपी राठौरले भने।

सुस्मिताको हत्या हुनुको अर्को कारण रूपेन्द्रको मृत्युपछि पाइने रकम हो।

‘रूपेन्द्र सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई हामीले पाउनुपर्छ भनेर विवाद गरेछन्,’ एसपी राठौरले भने, ‘रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र श्रीमती सुस्मिता क्षेत्री थापाबीच विवाद भएको कारण हालसम्म भुक्तानी हुन नसकेको देखिन्छ।’

रूपेन्द्रका नामबाट सुस्मितालाई आउने सबै रकम आफूलाई दिन परिवारले बारम्बार उनलाई दबाब दिने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

कसरी भयो हत्या?

असार १ गते राति साढे ९ बजेतिर सुस्मिताका ससुरा प्रकाश थापाले रक्सी खाएका थिए। खाना खाएर उनी सुत्न गए।

सासूससुराले खाना खाइसकेपछि सुस्मिता र उनकी नन्द सीता थापा भान्छामा छिरे। त्यतिबेला सुस्मिता महिनावारी भएकी थिइन्। उनी भुइँमै बसेर खाना खान थालिन्।

‘त्यही बेला ससुराले काठको लौरोले बुहारीको टाउकोमा हाने, सुस्मिता भुइँमा लडिन्,’ प्रहरी अनुसन्धान रिपोर्टमा भनिएको छ,‘नन्द सीता थापाले समेत मसला पिस्ने लोहोरोले भाउजुमाथि प्रहार गरिन्। सुस्मिता बचाउ बचाउ।। भन्दै कराइन्। आवाज सुनेर सासू तुलसा थापा भान्छामा छिरिन्।’

बाबु छोरीले तुलसालाई बाहिर निकाले र घाइते सुस्मितालाई निर्ममतापूर्वक पिटिइरहे।

‘बाबु छोरी मिली घटनास्थललाई आत्महत्याजस्तो देखाउन सल्लाह गरी भान्छा कोठा भित्र बिग्रिएका सबै चिजवस्तु यथास्थानमा मिलाएर राखी भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरू पुछे,’ एसपी राठौरले भने,‘सबै व्यवस्था मिलाएपछि रगत लागेका लुगा धोएर बाबु छोरी सुत्न गए। अर्को दिन सुस्मिताले आत्महत्या गरेको हल्ला फैलाए।’

यसरी क्रुर तरिकाले सुस्मिताको हत्या गर्ने चार जना अभियुक्तलाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४१ ९क० बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद हुने गरी जन्मकैद हुने प्रहरीले जनाएको छ।
सेतोपाटिबाट