इटहरी :पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा ४ हजार ५३७ नमुुनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित हुने सबैभन्दा धेरै कैलालीमा १६५ जना, डोटीमा ५८ जना, बझाङमा ३५, कञ्चनपुर र अछामका ३१÷३१ जना, धनुषाका ३०, काठमाडौंका २८ जना, लमजुङका १६, महोत्तरीका १३ र सप्तरीका १० जनामा संक्रमण देखिएको छ।
यस्तै मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४÷४ जना, तनहुँ र दैलेखका ३÷३ जना, चितवन, ललितपुर, भक्तपुर, दोलखा, पर्वत र स्याङ्जाका २÷२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको मृत्यु भएको छ भने ५ हजार ३२० जना डिस्चार्ज भएका छन् ।