धरानः तलब बृद्धिको माग गर्दै विगत तिन दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निरन्तर आन्दोलन चलिरहेको छ ।
गत असार १५ गते प्रतिष्ठानको ४३ औं संचालक परिषदले २० प्रतिशत सम्म तलब वृद्धि गर्ने निर्णय गरे सँगै विभिन्न चरणमा कहिले चिकित्सक, कहिले अधिकृत त कहिले हाउस अफिसरहरुले धर्ना, ज्ञापन पत्र बुझाउने गरिरहेका छन् । समितीले गरेको निर्णय प्रति आन्दोलन शुरु हुन थाले पछि प्रतिष्ठानले संशोधन पनि गर्नु परेको थियो ।
मंगलबार देखि विभिन्न समुहमा शुरु भएको धर्ना विहिबार पनि हाउस अफिसरहरुले धर्ना दिएका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको र अहिले कर्मचारी, चिकित्सक सबैको तलब २० प्रतिशतसम्म वृद्धि हुँदा पनि हाउस अफिसरहरुको नगरिएकोले आन्दोलनमा उत्रनु परेको एक डाक्टरले बताए । ती डाक्टरका अनुसार प्रतिष्ठानमा ४८ जना डेन्टल तथा हाउस असिफरहरु कार्यरत छन् ।
तलव वृद्धि गर्ने निर्णय वैज्ञानिक नभएको भन्दै दिनहुँ जसो आन्दोलन भईरहेको प्रतिष्ठानका एक चिकित्सक बताउँछन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफु खुशी निर्णय गर्दा तलबको विषयमा आन्दोलन भइरहेको उनको भनाई छ । संचालक समितीका सदस्यहरु सँग छलफल नै नगरी तलब वृद्धिको निर्णय गर्दा समस्या आएको उनले बताए । स्थायी आम्दानीको स्रोत नभई तलब वृद्धि गर्दा प्रतिष्ठानलाई समस्या आउने उनको भनाई छ । उनले भने, अहिले तलब वृद्धि भयो, सबैको लागि राम्रो हो, तर वैज्ञानिक हुनुपर्यो, पछि सम्म पनि तलब खुवाउन सक्नुपर्यो ।’ सिमित व्यक्तिको जुङगलमा उपकुलपति फस्दै गएकाले दैनिक समस्या आईरहेको उनको भनाई छ । प्रतिष्ठानको दिर्घकालिन स्रोत नहुँदा आउँदो दिनहरुमा तलब खुवाउन नसक्ने उनको दाबी छ ।
प्रतिष्ठानले २०७६ साउन १ गते लागु हुने गरि तलब वृद्धिको निर्णय गरेको थियो । कर्मचारीहरुको बेसिक तलबमानमा २० प्रतिशत, अधिकृत स्तर देखि डेपुटी रजिष्ट्रार सम्मका कर्मचारीको १५ प्रतिशत र सिनियर रेसिडेन्ट देखि पदाधिकारीहरुको हकमा बेसिक तलबमा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो ।
विगत ४र५ वर्ष देखि नै तलब वृद्धि नभएकाले अहिले वृद्धि भएको तलबको विषयमा आफ्नो मागहरु प्रति उपकुलपतिलाई ध्यानाकर्षण गराएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटा बताए । उनले भने, ‘आफ्ना समस्याहरु लिएर उपकुलपतिलाई भेट्न जानु चै नराम्रो कुरो होइन्, अभिभावकको हैसियतले आफ्ना कुराहरु राखेका हुन् ।’ प्रतिष्ठानको उपलब्धताको आधारमा तलब वितरण गरिने उनको भनाई छ ।