इटहरी: विद्यार्थीको बढी चापका कारण कक्षा ५ देखि १० सम्म प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरेको इटहरीस्थित जनता माविको कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण देखिएको छ ।

अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरेको जनता माध्यमिक विद्यालयमा अविभावक र विद्यार्थीहरुको आकर्षणका कारण प्रवेश परीक्षा लिनुपरेको थियो । ‘कक्षा ११ मा पनि राम्रा स्कुलका राम्रा विद्यार्थीहरुसमेत भर्नाको लागि आइरहेका छन्,’ विद्यालयका प्राचार्य छत्रपती ढुंगेलले भने, ‘हामीले यो पटकदेखि विद्यालयको अध्ययन वातावरण अझ राम्रो र स्तरीय बनाएर लगेका छौं ।’

उनकाअनुसार अर्को वर्षबाट विज्ञान संकाय सुरु गर्ने तयारी छ । सोको लागि आवश्यक पूर्वाधार सरकारको नमुना विद्यालय अभियानअन्तर्गत निर्माण हुनेछ । विज्ञान प्रयोगशाला लगायतको लागि आर्थिक सहयोग आइसकेको छ ।
यो विद्यालयलाई नमुना विद्यालय बनाउने भनेर नेपाल सरकारले आर्थिक सहयोग गरिरहेको छ । सोअनुसार अत्याधुनिक भवन र अन्य पूर्वाधार निर्माण हुनेछन् । ‘तीन सय विद्यार्थी अट्ने गरी स्वीमिङ पुलसमेत भएको अत्याधुनिक विद्यालय भवन बनाउन एक दुई दिनमै सुरु गर्छौं,’ भवन निर्माण समितिका अध्यक्ष दीपक ढकालले जानकारी दिए, ‘लोभलाग्दो नमुना स्कुल केही वर्षमै बनाएर छाड्छौं ।’

पाँच वर्षमा प्रदेशकै नमुना विद्यालय बनाउने अभियानका साथ आफूहरु लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल बताउँछन् । ‘कक्षा ११ र १२ मा पनि प्रविधिमैत्री कक्षा कोठाहरुको व्यवस्था गरेर पढाउँछौं,’ उनी भन्छन्, ‘ए ग्रेड ल्याएका विद्यार्थीलाई भर्ना तथा शुल्कमा भारी छुट दिने व्यवस्था छ भने नजान्ने विद्यार्थीलाई पनि कसरी जान्ने बनाउने भनेर हामी लागिपरेका छौं ।’

उनकाअनुसार एसइइमा राम्रो नतिजा ल्याएकाहरुलाई जनता स्कुलमा विशेष छुट र सुविधा दिइएको छ । गरीब र जेहेन्दारलाई पनि छात्रवृत्तीको व्यवस्था गरिएको छ । राम्रो सिकाइ वातावरणका लागि घोकाएर भन्दा पनि बुझाएर सिकाइने गरिन्छ । बसको सुविधा र डिजिटल बोर्डसहितको स्मार्ट कक्षा कोठाको व्यवस्थालाई विद्यालयले विशेष जोड दिएको छ । अंग्रेजी माध्यमबाट पढाइ हुने कक्षाहरुमा सोको व्यवस्था गरिसकेको छ भने नेपाली माध्यमका कक्षाहरुमा समेत यसै शैक्षिक सत्रदेखि व्यवस्था गर्दैछ ।