संखुवासभा: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दामा आइतबार राती पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीकार्य सेना, प्रहरी र स्थानियले खोजी कार्य जारी राखेका छन् । सिलिचोङ वेसिन्दाको पहिरोमा बेपत्ता भएका ११ जनाको स्थानियबासी,प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कू बाट नेपाली सेनाले खोजीकार्य गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रमुख डिएप्पी नवराज मल्लले जानकारी दिए ।

सिसुवाखोला वेसिन्दाको पहिरोको उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ । हृदयघातका कारण राईको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल बर्षासँगै गएको पहिरोले ९ घर बगाएको छ । वेसिन्दा गाउँका गोवासिंह राई, राममान राई, जुद्ध बहादुर राई (गैरी), जुद्ध बहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भिम बहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको प्रहरी प्रमुख डिएस्पी मल्लले बताए । पहिरोले ५ घरका ११ जना बेपत्ता भएका छन् । पहिरोमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जीला राई (गर्भवती), ११ वर्षीया नम्रता राई बेपत्ता भएको प्रहरी प्रमुख मल्लले जानकारी दिए । यसैगरी जुद्धबहादुर राई (गैरी) की ६५ वर्षीया श्रीमती गोरी माया राई र छोरी २२ वर्षीया प्रकृति राई सम्र्पकमा छैनन् । अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई हालसम्म बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई बेपत्ता रहेका छन् ।

चार जनाको जीवितै उद्दार

वेसिन्दा पहिरोमा परेका चार जनाको जीवितै उद्दार गरिएको छ । स्थानियले पहिरोमा परेका गोवासिंह राई, भीमसरी राई,फुलमाया र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । अहिले पनि पहिरो गएको स्थानमा लगातार पानी परिरहेको प्रहरीको भनाइ छ । गेवा सिंह राईको घर पुरै बगाएको र उनको बायाँ हात र बायाँतिरको टाउकोमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर छ । उनकी श्रीमती ६० वर्षीया फूलमाया राई, १४ वर्षीया छोरी भिमसरी राई सामान्य घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै ५५ वर्षीय भीमबहादुर राईको घर बगाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । सन्दीप राई र सुभधन राईको घर बगाए पछि उनीहरु सुरक्षित स्थान तर्फ सरेका छन् ।

बेपत्ताको खोजीमा सदरमुकाम बाट ६० सुरक्षाकर्मी घटना स्थल जाँदै

बेपत्ता भएका ११ जनाको खोजी तथा उद्दारमा सदरमुकाम खाँदबारीबाट ६० सुरक्षाकर्मी घटना स्थलतर्फ लागेका छन् । बेपत्ताको खोजी कार्यका लागि सेनाले विपद् ब्यवस्थापनको सामग्री सहित ३० जनाको टोली खटाएको छ । भने जनपथ प्रहरी –१५ जना र ससस्त्र प्रहरी–१५ जना घटनास्थल तर्फ लागेका छन् । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल लागेका छन् । पहिरोका कारण वडा कार्यालय र स्वास्थ्य चौकी भवन समेत क्षति पुगेको छ । अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्दारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सदरमुकाम खाँदबारी बजार आसपासका एक दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै पहिरोले खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा रहेको मनकामना बृद्धबृद्धा आश्रममा समेत क्षति पु¥याएको छ ।