सङ्खुवासभा: सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ का पहिरो पीडितका लागि राहत सामाग्री लिएर गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि सदरमुकाम खाँदबारीमै फर्किएको छ ।
पीडितहरुको लागि टेन्ट, खाद्यान्न, औषधिलगायतका सामग्री लिएर विराटनगरबाट गएको हेलिकप्टर बाक्लो कुहिरोको कारण अवतरण हुन नसकेपछि सदरमुकाम खाँदबारी फर्किएको हो ।

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले घटनाबारे जानकारी गराएका हुन् । सिलिचोङमा शनिबार राति गएको पहिरोमा परि ११ जना हराइरहेका छन् भने ७३ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरुलाई पहिरो गएको ठाउँभन्दा केहीमाथि चित्रे भने ठाउँमा सारिएको छ ।

तर चित्रेमा केही घरमात्र रहेकोले घरबार गुमाएर त्यहाँ गएकाहरुलाई राख्न समस्या भएको छ । राहत सामग्री समेत नपुग्दा उनीहरुको बिचल्ली भएको छ । सदरमुकामबाट ६० जना सुरक्षाकर्मीको टोली दिउँसो पुगेर खोजी तथा उद्धारको काम गरिरहेको छ । खोजी भइरहेको भए पनि हराइरहेकाहरु अहिलेसम्म भेटिएका छैनन् ।

 

rahat2