संखुवासभा: संखुवासभाको सिलिचोङ १ को बेसिन्दामा असार २७ गते राति पहिरोबाट बिस्थापित भएका परिवारहरुलाई अस्थाई बसोबासका लागि सिलिचोङको बुधबारे बजारमा टेन्ट निर्माण कार्य शुरु गरिएको छ । सेनाको बराहदल गुल्मले शौचालय सहितको टेन्ट निर्माण गरेको हो ।
पहिरोमा ११ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजिमा खटिएका १ जनाको ज्यान समेत गएको थियो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका बिस्थापित ८२ घरका ३ सय ८० जनालाई लाई अस्थाई बसोबासका लागि सिसुवाको बुधबारे बजारमा टेन्ट निर्माण गरिएको हो ।
टेन्ट निर्माण गरिएसंगै बिस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको ब्यवस्था मिलाउने र थप राहत र उद्धारका कार्यलाई प्रभावकारी र सहज बनाउन बुधबारेमा ब्यवस्थापन गर्न लागिएको शिलिचोङ्ग गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले जानकारी दिए ।
उनले बिस्थापितको उचित ब्यवस्थापनका लागि गाउँपालिकाले सकेको भुमिका निर्वाह गर्न बिभिन्न तैयारी गरिरहेको बताए । अझै पनि मौसममा सुधार आईनसकेको र थप जोखिमको डर कायमै भएकाले पहिरोको जोखिममा रहेको बताउँदै बेसिन्दाका बासिन्दालाई धेर्यता नगुमाउन र सचेत अवस्थामा रहन आग्रह गरे ।
टेन्ट निर्माणको कार्यमा राजनितिक दलका प्रतिनिधि, स्थानीय प्रशासन, जिल्ला स्थित शुरक्षा निकाय, नागरिक समाजको उल्लेख्य सहभागिता रहेको स्थानीय संयोगान्त कुलुङ्ले जानकारी दिए ।
अस्थाई बसोबासका लागि तैयार गरिएको टेन्टमा ट्वाईलेट, खानेपानी र बिजुली बत्ति जडानका लागि पहल भैरहेको उनको भनाई छ । असार २७ गतेको पहिरोमा हराईरहेका ११ जनाको खोजीजारी रहेपनि हालसम्म उनिहरुको अवस्था पत्ता लाग्न नसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।
अहिले त्यस क्षेत्रमा संघीय सरकारका सासंद, प्रदेश सरकार र पुर्व राज्यमन्त्री दिपक खड्काले मंगलबार बितरण गरेको खाद्यान्नको भरमा बिस्थापितले दैनिक गुजारा गरिरहेका छन् ।