इटहरी: मोरङ स्थित केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि चक्कु प्रहार भएको छ । कार्यालय छिर्ने क्रममा केराबारी १० कै भवन ठकुरीले कार्कीमाथि छुरा प्रहार गरेका हुन् ।

जडीबुटी मल कस ठेक्का सम्बन्धीको विवादमा अध्यक्षमाथि छुरा प्रहार भएको बताइएको छ । छुरा प्रहारबाट कार्कीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल लगिएको केराबारीका प्रहरी नायव निरीक्षक दीपक बरालले जानकारी दिए ।

प्रहरीले छुरा प्रहार गर्ने ठकुरीलाई पक्राउ गरिएको बताएको छ ।

छुरा प्रहार गर्ने ठकुरी जडीबुटी मल कस सम्बन्धी ठेक्काको पटके ठेकदार हुन् । असार मसान्तदेखि ठेक्का सम्झौता सकिए पनि उनले पटके शुल्क उठाइरहेका थिए । पछि गाउँपालिकाले पटके उठाउन थालेपछि ठकुरीले अध्यक्षमाथि छुरा प्रहार गरेका हुन् । ठकुरीले छुरा प्रहार गरेपछि गेटमा रहेका सुरक्षा गार्डको खुकुरी समेत खोसेर आक्रमण गर्ने प्रयास गरेका थिए । तर उनलाई तत्कालै नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक बरालले बताए ।