इटहरीः प्रदेश १ को केन्द्रमा रहेको इटहरीमा विश्व पर्यटन दिवसको अवसरमा र्याली निकालिएको छ । आज बिहान ७ बजे इटहरीको होटल व्यवसायी सङ्घको आयोजनामा र्याली निकालिएकोे थियो । र्यालीमा पर्यटन व्यवसायी, पर्यटन विषयका शिक्षक, विद्यार्थी र विभिन्न पर्यटन अभियन्ता तथा स्थानीयको उपस्थिति थियो ।
र्यालीमा विभिन्न नारासहितका प्लेकार्डहरू बोकिएको थियो । ‘हेभन इन मिथ नेपाल इज रियल’ अर्थात् ‘स्वर्ग कथ्य हो, नेपाल सत्य हो,’ ‘अतिथि देवो भवः,’ ‘१ अर्ब पर्यटन, १ अर्ब अवसर,’ ‘पर्यटकलाई माया र सम्मान गरौँ,’ इटहरीलाई पर्यटनमैत्री शहर बनाऔँ जस्ता नारा लेखिएका प्लेकार्डहरू र्यालीमा सहभागीहरूले बोकेका थिए ।
इटहरीको धरान लाइनमा रहेको रेयुकाइ चौतारीबाट शुरु भएको र्यालीले पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिरको बजार क्षेत्रको परिक्रमा गरेको थियो । र्यालीमा उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्ट, धरानका पर्यटनकर्मी बासुदेव बराल, स्वीट्जरल्याण्डका पर्यटनकर्मी क्रुजलगायतको उस्थिति थियो ।
र्यालीेपछिको कोण सभामा बोल्ने विभिन्न पर्यटनकर्मीहरूले इटहरी र प्रदेश १ लाई पर्यटनमैत्री बनाउनुपर्ने बताए । उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष शैलेश विष्टले इटहरीलाई प्रदेशको पर्यटकीय शहर बनाउनुपर्ने धारणा राखे । स्वीस नागरिक क्रुजले नेपाल आफ्नै मौलिकतामा रमाउनुपर्ने र अन्त तुलना गर्न नहुने बताए ।
त्यसैगरी, पर्यटन व्यवसायी सुनिल भुसालले इटहरी प्रदेश १ को मुटुमा रहेकाले प्रदेशको पर्यटनको विकासको लागि इटहरी लाग्नुपर्ने बताए । धरानबाट ¥यालीमा सहभागी हुन आएका पर्यटनकर्मी बासुदेव बरालले पर्यटनका विद्यार्थी, शिक्षक र व्यवसायी सम्मिलित ¥यालीले विश्व पर्यटन दिवसको महत्व बढाएको बताए ।
होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले इटहरीमा पर्यटन र्याली राज्यबाट हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । व्यवसायीहरू पर्यटनसँग सचेत भएकाले आफैँ र्याली निकालेको र इटहरीमा पर्यटन चेत बोकेका व्यवसायी छन् भन्ने सन्देश दिएको उनले बताए । उनले प्रदेश १ का मुख्य पर्यटकीय केन्द्रहरूमा पहुँचमार्ग र प्रचार पुग्नुपर्ने विचार व्यक्त गरे ।
बिहान १ घण्टासम्म चलेको कार्यक्रममा २ सय भन्दा बढीले सहभागिता जनाएका थिए ।