इटहरी :मोरङको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा एक प्रहरी अधिकृतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका प्रहरी अधिकृतलाई एक हप्ता अघि ज्वरो र हाच्छ्यूँ आउने लक्षण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी प्रहरी निरीक्षक रहेको बुझिएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कोरोना पोजेटिभ देखिएका प्रहरीलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा बुधबार भर्ना गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए । प्रहरीमा संक्रमित देखिएपछि बुधबार २२ जना प्रहरीको स्वाब संकलन गरिएको छ ।
यसैबीच प्रदेश १ मा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरङ र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरङको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ । प्रदेश १ मा बुधबार ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।