विराटनगर: मोरङको विराटनगर स्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।

नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परिक्षण गराएका र ती सञ्चालक चिकित्सकले नर्सिङ होममा बिरामी नआउने भन्दै कोरोना पुष्टि भएपनि उनले आफैँमा लुकाएर महानगर, प्रहरी र स्वास्थ्यकर्मीलाई जानकारी दिएका थिएनन् ।

बुधबार विराटनगर तीनपैनी घर भएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको थियो । अस्पतालले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो ।

परीक्षणमा पोजेटिभ देखिएपछि संक्रमित समेत पहिचान गर्न गाह्रो परेको थियो । अस्पतालको चिकित्सकमा संक्रमण पुष्टि भएको हल्ला चलेपछि विरामी नआउने र अस्पताल सिल गर्नुपर्ने भएकोले विराटको प्रशासनले संक्रमितको पहिचान नै लुकाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरिएको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले बताए ।
बिहीबार सार्वजनिक सूचना टाँस गरेर अर्को सूचना नभएसम्म शील कायम रहने गरेको हो ।

अस्पतालबाट मंगलबार संकलन गरिएको स्वाबको नतिजा पोजेटिभ आएकाले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याउनु पर्ने तथा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाउनु पर्ने महानगरले जनाएको छ ।

सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ । बाहिर–भित्र आवतजावतमा रोक लगाइएको छ । अस्पतालले नयाँ बिरामी भर्ना लिन पाउने छैन । अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी रहनेछ ।

यसैबीच संक्रमित पुष्टि भएकोे चिकित्सक बिहीबार दिउँसोसम्म होम आइसुलेनसमा रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । दिउँसोसम्म होम आइसुलेसनमा रहेकोले कोभिड अस्पताल लैजाने तयारी गरिएको महानगरको जनस्वास्थ्य शाखाले जनाएको छ ।