विराटनगरः कोरोनाको आशंका गरि विराटनगरका ठूला अस्पतालले उपचार अस्वीकार गरेकै कारण एम्बुलेन्सभित्रै मृत्यु भएका उदयपुरका युवाको कोरोना परीक्षण रिपोर्ट नेगिटिभ आएको छ । उदयपुरबाट उपचारका लागि विराटनगर आए पनि भर्ना लिन नमान्दा उनको एम्बुलेन्सभित्रै मृत्यु भएको थिया । मृत्यु भएका उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईमा कोरोना भाइरस संक्रमण नरहेको हिजो पुष्टि भएको हो ।
राईको अस्पताल डुलाउँदा डुलाउँदै शुक्रबार दिउँसो एम्बुलेन्समै मृत्यु भएको थियो । कोरोनाको शंकास्पद भन्दै मृत्यु भएपछि स्वाब संकलन गरेर कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
तत्काल शंकास्पद देखिएका कारण उपचारका लागि भर्ना गर्न अस्पतालले नमानेको कारण उनको कोसी अस्पताल अगाडि मृत्यु भएको थियो । अवस्था गम्भीर रहेका बिरामीलाई कोसीमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदाहुँदै मृत्यु भएको डा. दासको दाबी छ ।
स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर शुक्रबार दिउँसो २ बजे विराटनगरको नोबेल मेडिकल कलेज लगिएका राईलाई अस्पतालले भर्ना नलिएपछि कोसी अस्पताल ल्याइएको थियो । कोसीले पनि भर्ना लिन नमानेपछि अस्पतालबाहिर एम्बुलेन्समै उनको मृत्यु भएको थियो ।
विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृत्यु भएकी महिलाको पनि कोरोना परीक्षण रिपोर्ट नेगिटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीया जंगलीदेवी सदालाई बिहीबार उपचारका लागि अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार मृत्यु भएको थियो ।
कोरोनाको लक्षण देखिएपछि परीक्षणका लागि स्वाब संकलन गरेर पठाएको भएपनि रिपोर्ट नआइ उनको मृत्यु भएको थियो । उनको पनि रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । रिपोर्ट नेगेटिभ आएपछि दुवै जनाको शवलाई अन्तिम संस्कारले लागि परिवारको जिम्मा लगाएको अस्पतालले जनाएको छ ।