विराटनगर: १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमण देखिएको मध्ये २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरीमा कोरोना देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेले एक जना महिलासहित केही प्रहरीमा कोरोना लागेको पुष्टि भएको जानकारी आएको बताए । संक्रमित सबै जना प्रहरीहरुलाई मोरङको गोठगाउँ स्थित पुर्वाञ्चल विश्वविद्यालयको आईसोलेसनमा लगिएको छ । संक्रमित सबै प्रहरीहरु बाहिर ड्युटि नगरी प्रशासनिक कार्यमा रहने जवान हुन् ।
यसअघि प्रदेश प्रहरीमा कार्यरत प्रहरी अधिकृत सहित पाँच जना प्रहरीमा कोरोना देखिएको थियो । हालसम्म प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । अहिले संक्रमण देखिएको अधिकांश प्रहरी जवान हुन् । दुईं दिन अगाडि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रदेश पोर्टलसगँ कुराकानी गर्दै प्रहरी उपरीक्षक पोखरेलले अब समुदायमा कोरोना संक्रमण फैलदैं गएको भन्दै खतरा रहेको बताए । उनले सर्वसाधरण तथा स्थानीयलाई काम परे मात्रै घर बाहिर निस्कन, माक्स लगाउन, सेनिटाइजरको प्रयोग गर्न समेत आग्रह गरे ।