इलाम: इलाममा छ जना सुरक्षाकर्मी सहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका हवल्दार रहेका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो ।

त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् ।

त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोनाको पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए ।

सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमीत गस्ति नहुने भएको छ ।

क्वारेन्टाइनकै सुरक्षामा खटिएकाहरुलाई संक्रमण देखिएको बताए । संक्रमित सवैलाई उपचारको लागि पठाउने तयारी भइरहेको छ ।
इलामबाट सशस्त्र प्रहरीका १२ जना सहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि पठाइएको थियो ।

यसअघि इलामका २६ जनामा संक्रमण देखिएको थियो । नौ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।