धरान वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डमा उपचारमा रहेकी एक बिरामीको आइतबार मृत्यु भएको छ । उनको मृत्यु चिकित्सककै लापरवाहीका कारण भएको उनका आफन्तहरुले आरोप लगाएका छन् ।

धरान २ स्थित निकेतन गल्ली घर भएकी भिमसरी ल्वागुनको आइतबार बिहान मृत्यु भएको हो । उनी सर्जरी वान को बेड नम्बर १७ मा उपचार गराइरहेकी थिईन् ।
ल्वागुनको पेटको समस्या भए पछि १ हप्ता अघि देखि सर्जरीवार्डमा उपचारमा थिईन् । दिशा बन्द भए पछि अप्रेसन गर्ने तयारी रहेको थियो । पेटको आन्द्रा एकै ठाउँ टासिएकाले अप्रेसन गरेर खोल्नुपर्ने चिकित्सकले बताएका थिए ।

शनिबार साँझ अप्रेसनको समेत तयारी गरिएको थियो । अप्रेसनका लागि औषधी सहित बिल समेत काटिसकेका थिए । तर एक्कासी आइसियु खाली भएन भन्दै अप्रेसन गर्न चिकित्सकहरुले मानेनन् । सम्पुर्ण तयारी भई अप्रेसन गर्न लगे पछि आइसियु खाली छैन् भन्दै चिकित्सकले नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

बिरामीको अप्रेसन गर्न आइसियुमा पुर्याए पछि मेडिसिन वार्डमा उपचारमा रहेकी एक बिरामीलाई आकस्मिक आइसियुमा हाल्नुपर्ने भएकाले ल्वागुनको लागि आइसियु खाली नभएको चिकित्सकले बताए पछि उनलाई पुनः वार्डमै फिर्ता लगिएको थियो ।

चिकित्सकले आइसियु बिनानै आफ्नै रिस्कमा अप्रेसन गर्नु हुन्छ भने गर्दिन्छौं भने पछि रिस्क नलिने भन्दै वार्डमै फिर्ता लगेको बिरामीकी छोरी मिना गजमेरले बताईन् । उनले भनिन्, आमाको लागि आइसियु खाली राखेर, अप्रेसन गर्न समेत तयारी भइसकेको अवश्थामा एकै चोटि आइसियु खाली भएन भन्दै चिकित्सकले अप्रेसन गर्न मानन्, आफ्नै रिस्कमा गर्नुहुन्छ भने गर्दिन्छौं भन्यो, हामीले मानेनौं, २४ घन्टामा अप्रेसन गर्नुपर्छ भनेको थियो ।’

डाक्टरहरुलाई २४ घन्टा भित्रमा अप्रेसन गरिसक्नु पर्छ भन्ने थाहाँ हुँदाहुँदै पनि अप्रेसन गर्न ढिलाई हुँदा आमाको मृत्यु भएको उनको दुखेसो छ । उनले भनिन्, ‘आमाको लागि खालि गरिएको आइसियु कुनै ठुलो मान्छेको सोर्समा उनलाई दिइयो, अनि अप्रेसन हुन पाएन् ।’

एका तिर अप्रेसनमा ढिलाई अर्को तिर आइतबार बिहान गलत औषधी दिएको परिवारको आरोप छ । औषधी दिएको केही बेरमा आमाको मृत्यु भएको उनीहरुले बताए ।

राती देखिनै आमालाई गाह्रो हुँदा पनि ड्युटीमा खटिएका डाक्टरहरुले बेवास्ता गरेको छोरी मिनाको भनाई छ । उनले भनिन्, ‘सिस्टरहरुलाई भन्दा पनि उल्टै गालि गर्यो, डाक्टरलाई बोलाईदिनु न भन्दा पनि मानेनन् ।’

बिरामीको मृत्यु भए पछि आफन्तहरुले शव बुझ्न मानेका थिएनन् । केही समय पछि चिकित्सकहरु सँग छलफल भए पछि शव बुझेका छन् ।

बिरामीले बमिट गर्दा श्वास नलिमा गएको हुँनाले मृत्यु भएको चिकित्सकले बताएका छन् । विगत ४÷५ दिन प्रयोग गरिरहेको बमिट रोक्ने दबाई नै आज पनि दिइएको उनीहरुले बताएका छन् ।

अप्रेसन गर्न लगिसकेको अवश्थामा आइसियु खाली नभएकाले अप्रेशन गर्न नसकिएको चिकित्सकले स्वीकार गरेका छन् । कुनै बिरामीलाई आकस्मिक दिनुपर्ने भएकाले आइसियु खाली नरहेकाले अप्रेसन गर्न नसकेको मृत्तकका परिवारलाई चिकित्सकले स्पष्ट पारेका थिए ।