इटहरीः कोरोना संक्रमण कारण भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरूणको निधन भएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षामन्त्री रहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार मन्त्री बरुणलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो। उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो। मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुस्ख व्यक्त गर्दै आइतबार अयोध्या जाने कार्यक्रम रद्द गरेका छन् ।

कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जितेकी थिइन् । यसअघि उनी लोकसभाकी पनि सांसद बनिसकेकी छन्।

पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३७ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ । एजेन्सी