इटहरी: सुनसरीको धरानमा आइतबार एकै दिन थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा धरान १३ का एक औद्योगिक क्षेत्रमा काम गर्ने ५ जना र एन्फा क्वारेन्टिनमा रहेका ४ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । औद्योगिक क्षेत्रका ५ वर्षीय बालिका, ९ वर्षीय बालक, २८ र ४३ वर्षीय पुरुष र एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

कोरोना संक्रमितहरु तराईका विराटनगर, जनकपुर लगायतका शहर पनि घुमेको बताईएको छ ।
केही दिन अघि १३ नम्बर वडाका संक्रमित युवाको कन्ट्र्याक्ट ट्रेसिङको क्रममा उनले काम गर्ने क्षेत्रका ब्यक्तिहरुको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।

यता धरान १७ एन्फा क्वारेनटाइनमा बस्ने ४ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरू ४ जना भारतीय सेनामा कार्यरत रहेको र उनीहरू भारतको मणिपुरबाट आएको बताइएको छ । उनीहरू मध्ये धरान १६ का ५७ वर्षीय, धरान ११ का ३५ वर्षीय, धरान १८ का २७ वर्षीय, धरान १५ का २३ वर्षीय पुरुष रहेको बताइएको छ ।

यो सँगै धरान उपमहानगरपालिकामा क्वारेनटाइन बाहिरका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने धरानमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ ।