इटहरीः कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समाजमा खटिएका सुरक्षाकर्मीहरुलाई नै कोरोनाको संक्रमण देखिन थालेको छ ।

सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुमा पनि कोरोनाको संक्रमणमा पर्न थालेका छन् । यसै बिच जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका प्रहरी जवानमा कोरोना संक्रमित भेटिएको छ । संक्रमित प्रहरी जवान परिवार सहित बस्दै आएका व्यक्ति हुन् । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् । उनका कोरोना संक्रमण देखिए पछि उनको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

कार्यालय भित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार संक्रमित सँगको पत्यक्ष सम्पर्कको आधारमा कम्तिमा ४० जनाको तत्काल स्वाब संकलन गरी परीक्षण गरिने छ । कार्यालयमा रहेको जनशक्ति मध्ये संक्रमितसँग सम्पर्कमा नआएकाहरुलाई आलोपालो ड्युटीमा खटाइने गरी तयारी थालिएको थापाले बताए ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुई दिन अघि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सहित ३० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजना कोरोना पोजेटिभ पाइएका हुन् ।