मोरङको रंगेली नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ।

एकै परिवारका १४ जनासहित नगरपालिकाभित्र २२ जनामा कोरोना पुष्टि भएपछि सोमबार राति १२ बजेदेखि नगर क्षेत्र अनिश्चित कालका लागि सिल गरिएको नगरपालिकाकाले जनाएको छ ।

एकै परिवारका १४ बाहेक नेपाल विद्युत प्राधिकरण रंगेली शाखाका ५ र अस्पतालका ३ कर्मचारीसमेत २२ जनामा सोमबार कोरोना पुष्टि भएको थियो । रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार राति १२ देखि अर्को सूचना प्रकाशित नहुन्जेल शिल गरिएको नगरपालिकाले एक सुचना प्रकाशित गरी जनाएको छ ।

१४ जना संक्रमित भेटिएको परिवारमा एक महिला भारतबाट आएको र उनकै कारण संक्रमण फैलिएको् हुनसक्ने अनुमान गरिएको छ । बुबा बिरामी परेपछि ती युवती भेट्नका लागि दिल्लीबाट नेपाल आएकी थिइन्।

पछि ती बृद्धको मृत्यु भएको र उनको अन्तिम संस्कारमा सहभागी भएका परिवारका सदस्य र केही गाउँलेमा पनि कोरोना देखिएको जनाइएको छ ।

रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले संक्रमितको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।तत्काल रैगेलीका स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।

यस्तै स्वास्थ्यसँग सम्बन्धित सेवाहरु बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवाहरु समेत मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । रंगेली बजारका एकै परिवारको १४ जनामा संक्रमण देखिएको संक्रमणको स्रोत पहिचान हुन नसकेको बताइएको छ ।

rangeli press note