इटहरी: मंगलबार प्रदेश १ मा थप ४३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका २०, सुनसरीका १२, इलामका ३ यस्तै झापाका ८ जना रहेका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ सय ७१ पुगेको छ ।

मोरङमा देखिएका संक्रमित मध्ये १५ पुरूष र ५ जना महिला छन् । मंगलबार विराटनगरमा ८ जनामा संक्रमण देखिएको छ । विराटनगरमा कोशी अस्पतालका २ स्टाफ नर्स र एक सफाइ कर्मचारीमा कोरोना देखिएको छ ।

अन्य संक्रमितहरू विराटनगर ७ की २६ वर्षीया महिला, विराटनगर ८ की ३० वर्षीया महिला, विराटनगर ११ का ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक, विराटनगर १२ का ३३ र ३२ वर्षीय पुरुष, विराटनगर १३ का ३२ वर्षीया महिला र विराटनगर १४ का पुरुष रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १५० पुगेको छ ।

यस्तै मोरङको बुढिगंगामा १ महिला र ३ पुरुष, लेटाङमा २ पुरुष, उर्लाबारीमा १ पुरुष र केराबारीमा २ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । योसँगै मोरङमा कोरोना संक्रमितको संख्या ३९२ पुगेको छ ।

मंगलबार झापामा ८ जना पुरूष, सुनसरीमा ११ पुरूष र १ महिला, इलामा २ पुरूष र धनुषा स्थायी ठेगाना भएका १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको कचनकबलमा ३, भद्रपुरमा १, दमकमा २ र गौरिगञ्जमा २ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३ पुरुष र १ महिला, धरानमा ३ पुरुष, दुहबीमा ४ पुरुष र इनरुवामा १ पुरुषमा कोरोना देखिएको छ । मंगलबार जिल्ला अस्पताल खोटाङको आइसोलेशनबाट एक पुरुष डिस्चार्ज भएको पनि प्रदेश सरकारले जनाएको छ ।

मंगलबार प्रदेशमा ९९७ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको र अहिलेसम्म ४६ हजार ७६८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जना मोरंगको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।