विराटनगर :कोरोना संक्रमणका कारण मोरङको विराटनगर स्थित कोशी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुष रहेका छन् ।
आइसोलेशनमा भर्ना भएका पुरुषको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । डाक्टर दासका अनुसार कोरोना भाइरस संक्रमणको आशंकामा उपचार प्रक्रिया अघि बढाइएका साहको बुधबार दिउँसो १ः१० बजेतिर मृत्यु भएको हो । मृतकमा कलेजो सम्बन्धि गम्भीर प्रकृति रोग रहेको थियो । कोरोना संक्रमण भएको आशंकामा उनको बुधबार विहान १० बजे स्वाब संकलन गरिएकोमा अपरान्ह ४ बजे पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
योसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो ।
कोरोनाबाट मोरङमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।