विराटनगर: कोरोना भाईरसका कारण मोरङमा बुधबार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ९ गुद्रीका पुरुष र रंगेली ८ का पुरुष रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको थियो भने रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल आईनपुग्दै बाटैमा मृत्यु भएको थियो । मृत्यु भएपछि दुबैको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको कोशी अस्पतालले जनाएको छ ।

रंगेली ८ का ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या भएको भन्दै बुधबार विहान ९ः३० बजे आफन्तले अस्पताल ल्याएका थिए । तर, डाक्टरले उनलाई तत्काल मृत घोषणा गरे । मृत्युपछि कोरोनाको आशंकामा स्वाब संकलन गरिएकोमा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालको आइसोलेशनका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले जानकारी दिए ।

योसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो ।

कोरोनाबाट मोरङमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।