इटहरी: बिहीबार प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ मा ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको हो ।

बिहीबार मोरङमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगरमा बिहीबार ११ जना पुरूष र १० जना महिलालाई कोरोना संक्रमण देखिएको हो । यस्तै बेलबारीमा २ पुरूष र रङ्गेलीमा १ पुरूष रहेका छन्।

यस्तै सुनसरीमा १९ जनालाई संक्रमण देखिएको छ । धरान उपमहानगरपालिकामा ११ पुरूष र ३ महिला, इटहरीमा ४ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने झापाको मेची नगरपालिका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यता इलाम नगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ मा बिहीबारसम्म १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९०५ जना उपचारपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश १ मा बिहीबार १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, सुनसरी, इलाम र पाँचथरका १/१ जना रहेका छन् ।