इटहरी: शुक्रबार प्रदेश १ मा थप ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६४, झापामा २ र सुनसरीमा १ गरी जम्मा ६७ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको छ । रंगेलीमा २३ पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । बुढीगंगा गाउँपालिकामा २ पुरुष र कटहरी गाउँपालिकामा एकजना महिलालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाको मेचीनगर र विर्तामोडमा १/१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ ।

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ ।