विराटनगर: शनिबार प्रदेश एकमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश एक सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ४७ जना पुरूष र १४ जना महिलासहित प्रदेश १ मा शनिबार ६१ जना संक्रमित थपिएका हुन् ।
संक्रमित हुनेमा मोरङमा ४८ जना, सुनसरीमा १० जना, महोत्तरी ठेगाना खुलेका २ र राजविराज ठेगाना खुलेका १ जना रहेका छन् ।
मोरङका ४८ मध्ये विराटनगर महानगरपालिका भित्र मात्र ३३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २६ पुरूष र ७ महिला रहेका छन् ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिकाभित्र रहेको आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा.लि.मा कार्यरत थप १२ जना कोरोना संक्रमण देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको प्ररीक्षणमा शनिबार कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै मोरङको धनपालथान, कटहरी र उर्लाबारीमा १÷१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यता सुनसरीमा १० जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा २ पुरूष र २ महिला, दुहबीमा ३ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने इनरुवामा २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३७३ पुगेको छ भने उपचारपछि ९०८ जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेशमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।