इटहरी :आइतबार प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७ पुरूष र १३ महिला सहित ४० जना संक्रमित रहेको पुष्टि गरेको हो ।

संक्रमित मध्ये मोरङमा सबैभन्दा बढी २९ जना रहेको छ । यस्तै, सुनसरीमा ६ र झापामा ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १० महिला १९ पुरुष यस्तै सुनसरीको धरानमा १ महिला २ पुरुष, ईटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष संक्रमण भएको छ । त्यस्तै झापाको बाह्रदशीमा १ महिला १ पुरुष, अर्जुनधारामा २, दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ ।

यस्तै, प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन् ।

यो सगैं प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।