इटहरी : प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र साउन ३२ गते सम्म मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासन कार्यालयले यस अघि ५ दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो । तर जिल्ला भित्रका दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र, धरान लगायत स्थानीय बजारमा कोरोनाको संक्रमण बढ्दै गएपछि साउन २६ गते राति १२ बजे देखि लागू हुने गरी साउन ३२ गते राती १२ बजे सम्म निषेधित्र क्षेत्र घोषणा गरेको हो ।

कार्यालयले एक सुचना प्रकाशित गर्दै उक्त समय अवधिभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्याबश्यक सेवाका कर्मचारीले कार्यालयको काममा हिड्डुल गर्न पाउने छन् । सरकारी नम्बर प्लेटका सवारी साधन, अत्याबश्यक सेवाका सवारी साधन, ढुवानीका साधन बाहेक अन्य सबै सवारीसाधनहरुको आवागमन बन्द गर्ने कार्यालयले जनाएको छ ।

यस्तै ओद्योगिक क्षेत्रका उद्योग प्रष्तिठानहरुले स्वास्थ्य प्रोटोकल पालना गरी संञ्चालन गर्न पाउने छन् ।
उल्लेखित नियम उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम सजाय हुने समेत कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरले लगाएको लकडाउन हटेपनि प्रशासन कार्यालयको निर्णय मान्य हुने
यता इटहरी उपमहानगरपालिकाले ५ दिनका लागि लकडाउन घोषणा गरेको समय २५ गते सकिएपनि जिल्ला प्रशासनले गरेको निर्णय मान्य हुने भएको छ । स्थानीय सर्वसाधरण तथा ब्यापारीमा इटहरीमा अबका दिनमा के हुने भन्ने बारे अन्योलता छाएका बेला ३२ गते सम्म लकडाउन नै रहने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले जिल्ला भर एकै नियम लागू हुने बताए । उनले प्रदेश पोर्टलसगँ कुरा गर्दै भने “मैलैं सम्बन्धित पालिकाका मेयर, उपमेयरहरुलाई जानकारी गराईसकेको छु । हिजोका दिनमा जस्तो लकडाउन भएको छ । भोलिका दिनमा पनि सोही नियम लागू हुन्छ ।”