धरानः  उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङको बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृत्क पुरुषलाई उपचारका लागि ७ दिन अघि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचाररत उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको डा. सापकोटाले बताए । मृतकको शव अहिले आइसोलेसनमै रहेको छ । शव व्यवस्थापनका लागि सेनाको विशेष टोलीको जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

५५ वर्षीय पुरुषको मृत्युसंगै प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । मृतक सबै मोरङका रहेका हुन् । मृत्युु हुनेमा पनि चार जना विराटनगर महानगरपालिकाका मात्रै छन् । मोरङको सुनवर्षी र रंगेलीका गरेर दुई पुरुषको कोरोनाका कारण यसअघि नै मृत्यु भइसकेको छ । प्रदेश २ बाट उपचारका लागि ल्याइएका दुई जनाको पनि यस अघि बीपीमै मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताए ।