विराटनगरः प्रदेश १ को प्रदेश सभा सदस्य कुसुम श्रेष्ठलाइ कोरोना पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद तत्कालिन माओवादीबाट उमेद्दवार बनेकी थिइन् ।
इटहरी वडा नम्बर ४ मा डेरा गरेर बस्ने सांसदलाइ सामान्य टाउको दुख्ने र ज्वरो आएपछि आइतवार धरान एन्फा क्वारेन्टिनबाट दिइएको स्वावबाट कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठ दुइ छोरीसहित इटहरीमा बस्छिन् । उनका श्रीमान र उनमा कोरोना देखिएपछि दुइ छोरीहरूमा भने कोरोना देखिएको छैन ।
अहिले दुवैको स्वास्थ्य सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा बस्ने तयारी रहेको बताउँदै कोरोनालाई सहज रुपमा लिएर आत्मबल दरिलो बनाई परास्त गर्ने विश्वास रहेको सासंद श्रेष्ठले बताइन् ।

सांसद दम्पतीलाई कोरोना संक्रमण देखिएपछि इटहरी अस्पतालले श्रेष्ठ परिवार सबैको ‘कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परीक्षण गर्ने भएको छ । श्रेष्ठ दम्पतीलाई होम आईसोलेशनमा चाहिने आवश्यक स्वास्थ्य सामग्री तथा निगरानी गरिने अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिए ।