इटहरीः सुनसरीको तीन स्थानमा तीन सय जना क्षमताको आइसोलेसन वार्ड बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा इटहरीको क्षेत्रीय रङ्गशाला, दुहबीको अरुण वनस्पति उघोग र रमपम चाउचाउको उघोग अगाडीको एक गोदाम घरमा करिब तीन सय जना हट्ने क्षमताको आइसोलेसन वार्ड बनाउने निर्णय भएको छ ।

इटहरीस्थित क्षेत्रीय रङ्गशालामा सय बेड, अरुण वनस्पति उघोगमा ५० र रमपम उघोग अगाडीको खाली गोदाममा १५० जना अट्ने क्षमताको आइसोलेसन वार्ड बनाउने निर्णय भएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
बिहीबार प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलको नेतृत्वमा तीन स्थानको अनुगमन समेत गरिएको छ ।

जसमा छुटाछुटै शौचालय, बाथरुम र सुत्नको लागी बेडको व्यवस्थापन गरिने छ । आइसोलेसन वार्ड निर्माणको लागी स्थानीय तहले आर्थिक सहयोग गर्ने जनाइएको छ ।
कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्ने अवस्था आएपछि अस्पतालमा सङ्क्रमितलाई राख्न ठाउँ अभाव देखिन थालेपछि विकल्पको रूपमा आइसोलेसन वार्ड बनाउन लागिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलले बताए ।  यी तीन स्थानको आइसोलेसन वार्ड चाँडो भन्दा चाँडो तयार गरिने उनले बताए ।