इटहरी: शुक्रबार प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै संक्रमित हुनेमा मोरङका ६२ जना रहेका छन् । मोरङको विराटनगरमा २० पुरुष र १३ महिला गरि ३३ जना, रंगेलीमा १९ पुरुष र ९ महिला गरि २८ जना संक्रमित छन् भने सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा २२ जनामा संक्रमण देखिएको छ । जसमा ४ जना महिला छन् । सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला संक्रमित थपिएका छन् ।

त्यस्तै झापाका ९ जनामा संक्रमण पुष्टि भएको छ ।झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीका १ पुरुष थपिएका छन ।

थपिएका संक्रमित मध्ये दुई जना प्रदेश १ बाहिरका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

कोरोना संक्रमित मध्ये पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ जनाको मृत्यु भएको छ । दुबै जनाको बिहीबार बेलुका कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । मृत्यु भएकामा विराटनगर १५ का ३० वर्षिय पुरूष र सिरहा विष्णुपुर १ का ४० वर्षिय पुरूष छन् ।

प्रदेशबाट शुक्रबार ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।