काठमाडौंः मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले घरमा कोही दीर्घरोगी भएमा सकेसम्म उनीहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न सल्लाह दिए ।

घर बाहिर निस्कने युवाले नियमित औषधि खाइरहेका दीर्घरोगीसँग सकेसम्म नजिक नजान र घुलमिल हुन नहुने उनको भनाइ छ । अहिले नेपालमा सङ्क्रमण युवाबाट सरिरहेकाले उनीहरुले बालबालिका र बृद्धासँग टाढा बस्नुपर्ने बताए । उनले भने, “सम्भव भएसम्म छुट्टै बाथरुम र छुटै कोठाको व्यवस्था गर्नुपर्छ ।”
विभिन्न किसीमका मुटुरोगीलाई आफूले खाइरहेको औषधिलाई निरन्तरता दिन पनि डा. भट्टराईले अनुरोध गरे । अहिलेको समयमा चिकित्सकसम्म जान सजिलो नभएकाले खाइरहेकै औषधीलाई निरन्तरता दिनुपर्ने उनको सल्लाह छ । उनले भने, “सकेसम्म दुईतीन महिनालाई औषधि व्यवस्था गर्नु राम्रो हुन्छ ।”

अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीको पीसीआर परीक्षण गर्ने गरेको डा. भट्टराईले बताए । उनका अनुसार कुनै बिरामीको आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्दा मात्रै परीक्षण नगरी हुने गर्छ । आफूले केही समय पहिले नसा पूरै काटिएको व्यक्तिको परीक्षण नै नगरी शल्यक्रिया गरेको उनले अनुभव सुनाए । “त्यो व्यक्तिको शल्यक्रिया सफल भएको थियो र कोरोना सङ्क्रमण पनि पाइएन”, उनले भने, “शल्यक्रियामा सहभागिले पूरै पिपिई लगाइन्छ भने बिरामीको पनि त्यसपछि परीक्षण गरिन्छ ।”

उन कोभिडबिरुद्धको माहामारी सबैको भएकाले सबै मिलेर यसलाई जित्न लाग्नुपर्नेमा जोड दिए । यसको उपचारमा खटिएका आमनागरिकले चिकित्शक, नर्स र स्वास्थ्यकर्मीलाई सहानुभुति राख्नुपर्ने उनले बताए । धेरै स्वास्थ्यकर्मीले जोखिम मोलेर पनि उपचार गरिरहकेको उनको भनाइ छ । उनले भने, “कतिपय डाक्टर नर्सको घर भनेरै तर्सिएको पनि पाइन्छ ।” रासस