विराटनगरः ५ स्वास्थ्यकर्मीसहित विराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार १ बजेसम्मको पिसिआर परीक्षणको रिपोर्ट अनुसार १० महिला १६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी ८ नम्बर वडाका छन् । विराटनगर ८ मा १० जना संक्रमित थपिएको कुइकेलले बताए । वडा नम्बर १० मा ३ जना, ७ र १५ मा २र२ जना, ४, ११ र २ मा १र१ जना रहेका छन् । बाँकी वडा खुलेका छैनन् ।

हिजो दिउँसोसम्म आएको रिपोर्ट कोशी अस्पतालको ल्याबको मात्र हो । प्रदेश जनस्वास्थ्य ल्याबको रिपोर्ट आउन बाँकी रहेको छ । शनिबार थपिएका संक्रमितमध्ये विराटनगरस्थित नोबेल अस्पतालका २ र न्यूरो हस्पिटलका ३ जना कर्मचारी पनि रहेको कुइकेलले जानकारी दिए ।

कोशी अस्पतालको ल्याबले आइतबार दिएको रिपोर्टमा न्यूरोमा ३ जना महिला र नोबलका १ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । नोबेलका ४० वर्षका पुरुष र २२ वर्षिय महिला तथा न्यूरोका ६०, २५ र ५० वर्षका महिलामा संक्रमण देखिएको उनले जनाए ।

नोबलमा ५ डाक्टरसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अस्तपालका प्रबन्धक नारयण दाहालले जानकारी दिए । १० जना नर्स, ४ फार्मेशी कर्मचारी र चार जना नोबलका कर्मचारीमा संक्रमण देखिएको दहालले बताए ।