संखुवासभाः संखुवासभाको हिमालय किरण क्याम्पसको खाँदबारी रहेको आइसोलेसन तोडफोडमा संम्लग्न चार जना पक्राउ परेका छन् । कोरोना संक्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका छन् । आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका वडा–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, बिकास थापामगर र लाख बहादुर राई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

खाँदबारी अस्पतालले हिमालय क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुर बाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । आइसोलेसन तोडफोडमा संलग्न चारै जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । आइसोलेसन सेण्टर तोडफोड गरेको आरोपमा यस अघि हिमाल किरण क्याम्पसका प्रमुख डाक्टर मात्रिका तिम्सिनालाई पक्राउ गरिसकेको छ । क्याम्पस प्रमुख तिम्सिनालाई प्रहरीले गत शुक्रबार नै पक्राउ गरेको हो । हिमालय किरण पब्लिक क्याम्पसका प्रमुख डा. तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएको सामानहरुको खोजतलास भईरहेको भएपनि अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले तिम्सिनालाई अपराधि उपद्रव गर्न नहुने मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा भएको सिसि क्यामरा आधारमा थप चार जना पक्राउ गरेको प्रहरीको भनाइ छ । बिहीबार राति भएको आइसोलेसनमा तोडफोड बाट करिब १५ लाख रुपैयाँ बराबरको सामाग्री हराएको अस्पताल खाँदबारीले जनाएको छ । आइसोलेसन सेन्टरमा राखिएका ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री क्याम्पसमा बनाइएको आइसोलेसनबाटै हराएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमित धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुषलाई हिमाल क्याम्पस ल्याउन भएपछि क्याम्पस प्रशासन र स्थानियले विरोध जनाएका थिए । यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले क्याम्पसमा रहेको आइसोलेसन हटाउने निर्णय गरेको भएपनि हटाइएको थिएन ।

अस्पतालले करिब पाँच महिना अगाडि क्याम्पसमा आइसोलेसन निर्माण गरेको थियो । तर, गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासन र स्थानियले हटाउन माग गरेका थिए । स्थानीय टोलविकास संस्थाहरुले स्थानीय स्तरमा कोरोना फैलन सक्ने भन्दै आइसोलेसन हटाउन माग गदै आएका थिए । कोरोना संक्रमण समुदायमा फैलनै सक्ने भन्दै स्थानियले जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका थिए । क्याम्पसले पनि क्याम्पस सञ्चालनका लागि आवश्यक तयारी गर्नु पर्ने भन्दै आइसोलेसन सार्न अनुरोध गदैं आएको थियो । क्याम्पसमा विज्ञान र नयाँ शंकायको कक्षा सञ्चालनका लागि प्रयोगशाला निर्माण र व्यवस्थापनका कार्य गर्नका लागि हटाउनका लागि अस्पताललाई निवेदन समेत दिएको थियो । गत बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् ब्यवस्थापन समितीको बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि स्थानीय र क्याम्पस प्रशासनले असहमति जनाए थिए । आइसोलेसन प्रयोग गर्ने निर्णय हुन साथ स्थानीयले विहिबार साँझ जिल्ला प्रशासन समेत घेराउ गरेका थिए ।