विराटनगरः विराटनगरमा गए राती कोरोना भाइरसको संक्रमणका कारण एक ४४ वर्षीया महिलाको मृत्यु भएको छ । उनि विराटनगर ११ निवासी श्रेष्ठ थरकी महिला हुन् । बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबारराति ८ बजे उनको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगर –१५ मिल्स एरिया घर भए पनि मृतक महिला विराटनगर–११ स्थित माइतीमा बस्दै आएको खुलेको अस्पतालले जनाएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए ।

विराटका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाका अनुसार केही दिनदेखि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलामा निमोनियाको पनि समस्या थपिएको पाइएको डा. कोइरालाले बताए । उनको उपचारका क्रममा थप समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राख्ने तयारी हुँदै गर्दा मृत्युु भएको डा. कोइरालाले बताए ।

उनका अनुसार भर्ना गर्नुअघि बिरामीका आफन्तले लक्षण मिलेकाले कोरोना परीक्षणका लागि स्वाब दिएको जानकारी गराएका थिए । तर कोरोनासँग मिल्ने लक्षण देखिँदा पनि उपचारमा ढिलाई हुने भएकाले आइसोलेसनमा नराखिकन तत्काल आकस्मिकबाटै उपचार थालेर अन्तिम प्रयास गर्दासमेत बिरामीलाई बचाउन नसकिएको डा. कोइरालाको भनाइ छ ।
विराट शिक्षण अस्पतालले बिहीबारदेखि संक्रमितको उपचार गर्ने गरी ६० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । उनको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष रहेका छन् ।