ईटहरीः कोरोना भाइरस संक्रमण कारण बारा र बाँकेमा गए राती ३ जनाको मृत्यु भएको छ । बाराको वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत एक जना ७० वर्षीय वृद्धा र अर्का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै जनाको वीरगञ्जमै उपचार भइरहेको थियो ।

मृतक ४२ वर्षीय पुरुष बाराको विश्रामपुर गाँउपालिका १ का हुन् । मंगलबार नै रिपोर्ट पोजेटिभ आएका उनको राति पौने ११ बजे मृत्यु भएको हो । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएको बताए ।

त्यस्तै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । भदौ २ गते पीसीआर परीक्ष्ण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार राति ८ बजे मृत्यु भएको डा. चौरसीयाले जानकारी दिए।

वीरगन्जमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। मृतकमध्ये १ बेवारिसे युवकसहित पर्साका ३१ जना, बाराका ९ जना र रौतहटका २ जना छन् ।
उता बाँकेमा पनि कोरोना संक्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो संक्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गए राति १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।