इटहरीः कोराना संक्रमणका कारण पोखरा, र वीरगञ्जमा ३ जनाको मृत्यु भएको छ। पोखरामा भदो ७ गते कोरोना पुष्टि भएकी पोखरा नगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान ८ बजे निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
पर्सामा एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ३३ हप्ताको गर्भवती रहेकी २३ वर्षीया बाराको हर्दियाकी उनको आज बिहान नारायणी अस्पताल पर्सामा निधन भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार गर्भवती उनेको हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।
वीरगञ्जमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो। गण्डक स्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। भदौं ११ गते बिहीबार बिहान ८ः१० मा उनको मृत्यु भएको नारायणी अस्पतालमा सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। एउटा खुट्टामा समस्या भएका कारण बैशाखीको सहायतामा हिँडडुल गर्ने उनलाई साउन ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। दुवै मृगौला फेल भएका कारण एक वर्षदेखि उनी वीरगञ्ज हेल्थ केयर अस्पतालमै डायलायसीस गराउँदै आएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि पनि हेल्थ केयरमा उनको मृगौलाको डायलायसिस गराइएको थियो।