इटहरीः कोरोना भाईरस संक्रमणका कारण उदयपुरका एक शिक्षक र सिरहाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरको त्रियुगा–४ का ५२ वर्षीय एक शिक्षकको मृत्युृ भएको हो । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार गराईरहेकी सिरहाको लहान घर भएकी ६५ वर्षिय महिलाको उपचारको क्रममा शुक्रबार विहान १०ः४५ मा मृत्यु भएको हो ।
सिराहा लहानकी महिला दिर्घरोगी रहेकाले उनको स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार विहान कोशी अस्पताल भर्ना गरिएको थियो । सोही दिन साँझ उनलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । ‘आइसोलेशनमा राखेर उपचार भइरहेको थियो,’ कोभिड उपचार केन्द्रका डा.दिपक सिग्देलले भन्नुभयो, ‘विरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मृत्यु हुनपुग्यो ।’ प्रहरीले भने मृतक महिला लाहान घर भइ विराटनगर–१० मा डेरा बस्दै आएको जनाएको छ । महिलाको शव व्यवस्थापनको पहल भइरहेको छ । यसअघि शुक्रबार विहान धरानस्थित बीपी कोभिड अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । उनीहरुमध्ये प्रदेश २ का ८ जना छन् भने ३ जना धरानका, १ जना झापाका र १६ जना मोरङका हुन् । कोरोनाबाट मोरङको बेलबारीका १ जना, बुढीगंगाका २ जना, रंगेलीका १ जना, सुनवर्षीका १ जना र विराटनगरका १२ जनाको मृत्यु भइसकेको कोशी अस्पतालले जनाएको छ ।
उदयपुरका मृतक शिक्षकलाई निमोनियाको आशंकामा गत मंगलबार राति ११ बजे शिक्षण अस्पतालमा पु¥याइएका शिक्षकलाई चिकित्सकले मृत घोषित गरेका थिए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन २८ देखि बिरामी रहेकोमा भदौ २ गते जिल्ला अस्पताल बोक्सेमा सामान्य उपचारपछि घर फर्किएका थिए । अस्पतालको औषधिले ठिक नभएपछि भदौ ४ गते त्रियुगा–३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रालिमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भदौ ८ गते राति काठमाडौं लगिएको थियो ।
लिम्चुङबुङ गाउँपालिका–१ स्थित आधारभूत प्राथमिक विद्यालयबाट सरुवा भई त्रियुगा–७ स्थित आधारभूत विद्यालय कौवाईमा हाजिर भएका उनको मृत्युपछि शिक्षण अस्पतालमा स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । शिक्षकलाई कोरोना देखिएको जानकारी आएको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले उनको संक्रमणको स्रोत नखुलेको बताए । शिक्षकको मृत्युपछि कोरोना पुष्टि भएकोले उनको उपचार गरेको गाईघाटस्थित हेल्थकेयर ‘सिल’ गरिएको छ ।