इटहरीः पोखरा र पाल्पामा कोरोना संक्रमणका कारण २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पोखरामा ५२ ५२ वर्षीय पुरुष र पाल्पामा३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका १६ का ५२ वर्षीय पुरुष हुन् । उनी श्वासप्रश्वास समस्या भएर १२ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।
ती पुरुषको उपचारका क्रममा शुक्रबार राति १२ः१५ बजे मृत्यु भएको केन्द्रका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए । योसँगै पोखरा प्रतिष्ठान मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।
तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा शुक्रबार साँझ मृत्यु भएको हो । ती महिला ५ भदौमा स्वास्थ्य समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा ७ भदौमा उनको पीसीआर पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा उपचाररत उनको शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए ।शाक्यका अनुसार मृतक महिला मुटु रोगीसमेत थिइन् ।