इटहरीः सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि आइसोलेसन बेडको सङ्ख्या पनि बढाइएको छ । हाल सुनसरीका विभिन्न ठाउँमा गरी ५ सय बेडको आइसोलेसन तयार भएको प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलले जानकारी दिए । ‘हामीले विभिन्न ठाउँका होल्डिङ सेन्टर र क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरेर आइसोलेसन बेडको सङ्ख्या ५ सय पुर्‍याएका छौँ’, प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।

उनका अनुसार बराह क्षेत्रको चतरा कृष्णजी महाराज आश्रममा रहेको होल्डिङ सेन्टरलाई एक सय बेडको आइसोलेसनमा परिणत गरिएको छ र आवश्यकता हेरेर विस्तार गरिने भएको छ । त्यस्तै भुटाहा अस्पतालमा ५० बेड, इटहरीमा रहेको रङ्गशालामा एक सय बेड, दुहबीको अरुण वनस्पति उद्योगमा ५० बेड र दुहबी ३ मा रहेको राष्ट्रिय वार्णीज्य बैङ्कको भवनमा एक सय बेडको आइसोलेसन तयार परिएको छ ।

यसै गरी इनरुवाको नयाँ बसपार्कमा २५ बेड र धरानको हरियाली समुदायकी वनमा २५ बेडको आइसोलेसन तयार गरिएको पोखरेलले जानकारी दिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सङ्क्रमितको सङ्ख्या बढी भए उनीहरूलाई हरियालिमा लागिने उनले जानकारी दिए । आइसोलेसन सेन्टर मध्ये अहिले नयाँ बसपार्क इनरुवामा सङ्क्रमित भएका प्रहरीहरू बसेका छन ।

सुनसरीमा कोरोना सङ्क्रमण पुष्टि भएका सबै लक्षण विनाका रहेका छन । यदि लक्षण देखिएमा उनीहरूलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोसी अञ्चल अस्पताल विराटनगर लगिने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकालाई व्यवस्थापन गर्न एउटा कोभिड १९ विशेष शव वहान तयारी अवस्थामा राखिएको पोखरेलले जानकारी दिए । आइसोलेसन बनाउन प्रदेश सरकारबाट इटहरीलाई २० लाख, दुहबीलाई १५ लाख, भुटाहालाई १५, बराह क्षेत्रलाई १५ लाख, धरानलाई १५ लाख र इनरुवालाई १० लाख दिइएको छ ।

जिल्लामा रहेका स्थानीय तहले कोरोना महामारीसँग एक्लै नसक्ने भएकाले सबै पलिकाको स्वामित्व रहने गरी स्थानीय आइसोलेसन व्यवस्थापन कोष स्थापना गरिएको पोखरेलले जानकारी दिए । सुनसरीका ३ वटा पालिकाका प्रमुख संयोजक रहने गरी ३६ लाखको कोष स्थापना गरिएको उनले जानकारी दिए ।

साथै उनले हाल सुनसरीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ४३ रहेको जानकारी दिए । उनका अनुसार शनिवार बिहान मात्रै सुनसरीका ३० जना कोरोना मुक्त भएका छन । यो सँगै सुनसरीमा कोरोना मुक्त हुनेको सङ्ख्या २ सय ५५ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट शनिवारसम्म सुनसरीमा ३ जनामाको मृत्यु भएको छ ।