इटहरीः सुनसरीको २ उपमहानगरपालिकामा २ बालिका सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरीमा १४ वर्षीया बालिका सहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा इटहरी वडा नं ४ का २२ र ५२ वर्षीया २ महिला, ३० वर्षीय पुरुष, वडा नं ५ की १४ वर्षीया बालिका, वडा नं ७ का ३५ वर्र्षीय पुरुष, वडा नं १४ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए । इलाका प्रहरी कार्यालय इटहरीका दुई जना पुरुष र शसस्त्र प्रहरी पकलीका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको धमलाले जानकारी दिए । इटहरीमा कोरोना संक्रमितको संख्या १२५ पुगेको छ ।
उता धरान उपमहानगरपालिकामा पनि १० वर्षीया बालिका सहित थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण हुनेहरूमा धरान १७ एन्फा क्वारेनटाइनमा खटिएका नेपाली सेनाका २६,२५ र २७ वर्षीय ३ जना नेपाली सेना र एक जना धरान १७ का ३९ बर्षीया महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रवक्ता डा. निदेश सापकोटालेका अनुसार हेल्प डेस्कबाट स्वाब लिइएको २ जना मध्ये १ जना १० बर्षीय बालिका र अर्का १७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूको कनट्र्याक्ट ट्रेसिङ जारी रहेको छ ।