धरानः कोरोना संक्रमणका कारण आज धरानमा आमा छोराको ५२ मिनेटको फरकमा मृत्यु भएको छ । धरान १७ निवासी ७४ बर्षीया आमा र ६० वर्षीय छोराको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । आईतबार बिहान ७ः४५ बजे आमाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् । आमाको मृत्यु भएको ५२ मिनेटपछि छोराको पनि बिहान ८ः३७ बजे मृत्यु भएको हो ।
डा. सापकोटाका अनुसार आमा छोरालाई शनिवार राति साढे ८ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो । ७४ बर्षीया आमामा अत्यधिक खोकी, श्वास फेर्न समस्या, एक हप्ता देखि ज्वरो आएको डा. सापकोटाले बताए । उनलाई गम्भिर अवस्थामै अस्पतालमा ल्याइएको थियो । उनमा कोरोना आशङ्का गरी स्वाब परीक्षण गर्दा आईतबार कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. सापकोटाले बताए ।

६० बर्र्षीय छोरामा पनि श्वास फेर्नमा समस्या, अत्यधिक खोकी र १० दिन देखि ज्वरो आएको थियो । उनको पनि आईतबार बिहान कोरोना पोजेटिभ पुष्टि भएको डा. सापकोटाले बताए । छोरामा मधुमेहको दिर्घरोगी र केही महिना देखि कलेजोमा समस्या देखिएको थियो भने आमामा मधुमेह र उच्च रक्तचाप रहेको थियो ।

मृतक दुवैमा कसरी कोरोना सङ्क्रमण भयो ? यसबारेमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा बुझ्नेक्रममा रहेको महाशाखाका प्रमुख उमेश मेहेताले बताए । अहिले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा मृतकको घर धरान १७ पुगेर परिवारका अन्य सदस्यहरू लगायत १३ जनको स्वाब लिने तयारी भइरहेको प्रमुख मेहेताले बताए । उनका अनुसार परिवारका अरू केही सदस्यहरूमा केही दिन देखि ज्वरो आइरहेको छ । आमा छोराको मृत्युसंगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । मृतक दुवैको शव व्यवस्थापन गर्नका लागि धरान उपमहानगरपालिकाले तयारी थालेको छ ।